गोली हानेर मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर मध्यराति कांग्रेस सिराहा सभापतिको घरमा पुगेपछि..

सिराहा। सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी हिराबहादुर पाण्डे र कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवबीच विवाद भएको छ । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेको खुलेको छ ।
आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका हुन् । स्रोतका अनुसार पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।
कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताए ।   उनले भने, ‘उहाँ (एसपी साप) सँग मेरो खास मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनु भएको रहेछ ।’
सभापति यादवले आफूहरूबीच मतभेद नभएको र मार्छु भन्दै आएको विषयमा आफूले सोधखोज गरिरहेको बताए । ‘मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका पाण्डेलाई सीडीओ कवारी र सशस्त्रका एसपी गिरीले फर्काएर लिएर जानुभएको रहेछ । मैले अहिले मात्रै थाहा पाए । यो विषयमा सोधखोज गर्दैछु,’ उनले भने ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि पाण्डे यादवमाथि जाइलागेका हुन् । तर, एसपी पाण्डेले भने आफूहरूबीच विवाद नभएको र आफू मार्छु भनेर यादवको घर नगएको दाबी गरे । ‘उहाँसँग कुनै विवाद भएको होइन,’ एसपी पाण्डेले  भने, ‘कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि उहाँ (यादव) ले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’
प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए ।
‘अभियुक्तलाई समातेपछि छोड्न उहाँले मलाई दबाब दिनुभएको थियो,’ उनले भने, ‘विवाद भएको चाहिँ यी विषयमा हो, अरु कुरामा होइन ।’  आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा …