सरला रेग्मी
पाँचथर । याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगुको घरमा ‘सिलाम साक्मा’ को रिर्पोटिङ गर्न पुग्दा टेवलमा चिया आईपुग्यो । त्यो ‘ग्रिन टि’ थियो । ग्लासमा केहि पल्ट पानी थप्दैँ स्वाद लियौँ ।पाँचथर सदरमुकाम स्थित जवेगुको घरमामात्र हैन अचेल पाहुनालाई स्वास्थ्यवर्धक मानिने ‘ग्रिन टि’ खुवाउने चलन बढ्दै गएको पाईन्छ । विभिन्न स्वादका चियाका पारखी छन् । भिन्न स्वादलेमात्र हैन स्वास्थ्यवर्धक हुने भएकाले पनि ‘ग्रिन टि’ प्रतिको मोह बढ्दै गएको देखिन्छ ।
स्फूर्ति दिने तथा विभिन्न रोगसँग लड्ने क्षमता ‘ग्रिन टि’सँग भएको विश्वास गरिन्छ । झट्ट साथीभाई भेटिदा भन्ने गछौँ चिया खाउ । त्यतिमात्र हैन यसो भेटेर चिया खाउन भन्छौँ । अर्थात भेट्ने बाहाना वा बाध्यताका लागि चियाको प्रयोग हुने गर्छ । यस्तो बेला ‘ग्रिन टि’ खाने प्रसस्त भेटिन्छन् । तातोपानीमा भिजाएर खाने पेय पदार्थको रुपमा ‘ग्रिन टि’ रहेको पाईन्छ । पानी थप्दैँ पिउनु पर्ने भएकाले लामो समय गफिदैँ, कार्यालयको काम गर्दै प्रयोगमा ल्याईएको पाईन्छ ।
सुरुमा पिउदा तितो तितो हुने, टर्रो लाग्ने ग्रिन टिमा विस्तारै बानी पर्दै जाने देखिन्छ । संसारमा चियाका पारखीहरुले मन पराउने स्वाद अनेकन छन् । नेपालको उच्च पहाडी क्षेत्रमा पाइने चियाको स्वादलाई विशिष्ट मानिन्छ । त्यतिमात्र हैन यहाँको आग्यार्नीक ‘ग्रिन टि’कोे महत्व अन्तराष्ट्रिय बजारमा समेत छ । नेपालकै अग्लो स्थानमा पाँचथरको चरिभञ्याङको पाथीभरा टिस्टेटमा ग्रिन टि उत्पादन हुन्छ । जति अग्लो ठाँउ, उती राम्रो चिया मानिने गरिन्छ ।
दोस्रो चिनियाँ सम्राट् तथा प्रथम कृषिविज्ञ सेन नोङ (इपू. २७३७–२६९७) चिया चाख्ने पहिलो मानिस हुन् भन्ने रहेको ‘फर अल द टी इन चाइना’ भन्ने किताबमा सारा रोजले उलेख्ख गरेकी छन् । चिया महत्वपूर्ण पेय पदार्थ हो । यस मध्ये ग्रिन टिलाई स्वास्थ्यवर्धक भएको मानिन्छ । ग्रिन टि सबैभन्दा धेरै पिउने चाईनिज र जापानीजलाई मानिन्छ । ग्रिन टिमा पोनिफेनोल्स नामक एन्टीअक्सिडेन्ट, एमाईनोएडिस, थियनाइन, लिलोनलिक एसिड, कैफिन, क्यालसियम, म्यागेसियम लगायत भएकाले स्वास्थ्यका लागि फाईदा जनक भएको बताईन्छ ।
यसले शरिरका टक्सिन अर्थात बिषाक्त पदार्थ बाहिर निकाल्ने, कोलोस्टोर कम गर्न, उच्च रक्तचाप नियन्त्रण गर्न हितकर छ भन्ने कुरामा त थुप्रै अनुसन्धान भएको छ । बिस्तारै अहिले नेपाली समाजमा पनि ग्रीन टि पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रती सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रिन टिमा अभ्यस्त गराउँदैछन । यसको प्रयोगको निचोड के मान्न सकिन्छ भने, ग्रिन टि शरिरका लागि महत्पूर्ण छ ।
‘ग्रिन टि को महिमा अनेकन छन् । स्वास्थ्यवर्धक रहेकाले यसको प्रयोग महत्पूर्ण छ । यसले मानव शरिरमा हानि पु¥याउदै’ चियाका विज्ञ निरानन्द आचार्य भन्छन् ‘विभिन्न अध्ययनले पुष्ट्रि गरेको छ । चियाको मौलिकतालाई कायम राखेर तयार गरिने ग्रिन टिको प्रयोग स्वास्थ्यका लागि महत्पूर्ण रहेको छ । अर्गानिक रुपमा उत्पादन गरिएको ग्रिन टिको माग पश्चिममा मुलुकमा धेरै माग रहेको छ ।’
प्रसोधनको तरिका
ग्रिन टि बनाउनको लागि पहिला यस्को टिपाइबाट नै सुरु हुन्छ । ग्रिन टि को लागि एभरेज प्लकिङ ( एकपाते सुइरो ) र त्यो भन्दा मुनि पलाएको दुइवटा मुनालाई टिप्नु पर्छ । चियाको मुनालाइ टपक्क टिपि होसियार पुर्वक प्रसोधन गरिन्छ । ग्रिन टि को पनि विभिन्न प्रकार हुन्छन् । त्यो अनुसार टिपाई गर्नु पर्ने हुन्छ । ग्रीन टि को लागि जती छोटो मुना टिप्न सक्यो त्यति नै राम्रो मानिन्छ । बगानबाट कारखानामा ल्याउने बित्तिकै तुरुन्त प्रोसेसिङमा लैजानु पर्छ । जति ताजा चियालाइ प्रोसेसिङ्मा लग्यो त्यति नै त्यस्को गुणस्तरीय गर्छ ।
‘टिपेको ६ देखि ८ घन्टामा कारखानामा ल्याउनु उपयुक्त हुन्छ । टिपेर ल्याएको चिया माडिनु, थिचिनु हुदैन’ कञ्चनजंघा टिस्टेट तथा रिसर्ज सेन्टरका प्रबन्धक समेत रहेका आचार्य भन्छन् ‘बाहिरी बस्तुको अनावश्यक दवाब हुनुहुदैँन । टिपेर ल्याएको चियालाई ५ देखि १० मिनेट चिसो हावामा राख्नुपर्छ । यदि त्यसमा धुलो भने उड्न दिनुपर्छ पानीकोमात्रा छ भने सुक्न दिने गर्नु पर्छ । त्यसपछाडी त्यसलाई प्रोसेसिङ्मा लैजाने गरिन्छ ।’
मेसिन अनुसार प्रसोधन फरक–फरक हुन्छ । प्रायः नेपाली चिया कारखानामा प्रयोग गरिएको मेसिनमा २ सय देखि २ सय ३० डिग्री फोरेन हाईटमा १२ मिनेटको स्पिडमा सुकाउन हरियो पत्तानै भुटे जस्तो गर्नुपर्छ ।
चाइनिज मेसिनमा २५० डिग्री फोरेन हाइटमा दिनु उपयुक्त हुन्छ । एउटा रिभल्बिङ हुन्छ र अर्को इन्जाइमरको प्रयोग गरिन्छ । इन्जाइमरमा चै ४० देखि ५० सेकेन्डमा चिया ड्रप आउट हुन्छ ।
त्यसपछी तुरुन्त फेरि भुटेको चियालाइ सेलाउने प्रक्रियामा लैजानु पर्छ । यसरी सेलाउनु पर्यो कि फेरि रोलिङ प्रक्रियामा लैजादा नभाचियोस । तर नरम हुनुपर्छ । त्यो नरम भएपछी फेरि १५ देखि २० मिनेट रोलिङ प्रक्रियामा जान्छ । त्यसपछी फेरि २४ मिनेटमा मेसिनद्वारा नै सुकाउने र सेलाउने काम भए पछि ग्रिन टि तयार हुन्छ ।
किन पिउने ग्रीन टि ?
ग्रीन टि खासमा एन्टिअक्सिडेन्टको स्रोत हो । ग्रिन टि प्रसोधन गर्दा ताजा मुना बाट गरिन्छ । जति ताजा चिया पत्तिलाई प्रोसेसिङ्मा लग्यो त्यति नै त्यसको गुणस्तरीयता बढ्छ । प्राकृतिक रसायनलाई नष्ट नगरी क्लारोफिलको मात्रा बढी सुरक्षित गरिन्छ । क्लोरोफिलको मात्रा जति सुरक्षीत राख्न सकिन्छ, त्यसमा नाइटोजनको मात्र सुरक्षित रहन्छ । जति नाइट्रोजन क्लोरोफिलकोमात्रा बढी हुन्छ त्यसमा क्याटेचिन भन्ने पदार्थका मात्रा बढी हुन्छ ।
क्याटेचिनको मात्रा जति बढी भयो त्यस्ले क्यान्सर निरोध गर्नकोलागी भुमिका खेल्ने चिया सम्बन्धी जानकारहरु दाबि गर्छन् । आचार्य भन्छन ‘पाचन यन्त्रलाई तन्दुरुस्त राख्न देखि छालालाइ नरम र चम्किलो बनाउन ग्रिन टि उपयोगी हुन्छ । तौल नियन्त्रण हुनुको साथै उच्च रक्तचापलाई नियन्त्रण गर्छ । ग्रिन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्ने विभिन्न अध्यनले पुष्टि गरिसकेको छ ।’
कस्तो स्थानको ‘ग्रिन टि’ उत्तम
अर्थोडक्स ग्रीन टि जहाँको भएपनी उत्तम नै मानिन्छ । तर चिया विशेषज्ञ भन्छन ग्रिन टि मात्र होइन अन्य चियापनि १ हजार मिटर भन्दा उचाईमा पाईने गुणस्तरीय हुन्छ । । चियाको सवालमा जति उचाई घट्दै गयो गयो गुणस्तर कम हुदैँ जाने गर्छ । ग्रिन टिका लागि जति उचाई बढि हुन्छ, यसको गुणस्तर उति राम्रो हुने बताईन्छ ।
कसरी प्रयोग गर्ने
ग्रीन टि सामान्यतया ९० डिग्री सेल्सियल उम्लिएको पानीमा एककपका लागि १ ग्राम चिया राखेर करिब १ देखि डेढ मिनेट छोप्नु पर्छ । तातोपानीमा ग्रिन टिको रस फैलिएपछि पिउदा उत्तम हुन्छ । पानीको तापक्रम र ग्रिनटिको मात्राले स्वादमा फरक पार्छ । एकचोटि हालेको ग्रीन टि तीन पल्टसम्म पानी थपेर खान सकिन्छ । अहिले त आर्कषक ग्रि टिका भाडोहरु पनि आउन थालेका छन् ।
खाध्यपदार्थ प्रयोग गरेको ६ महिना भित्र प्रयोग गरि सक्नु भनिए पनि चिया उत्पादन भएको एक बर्षसमम प्रयोग गर्न सकिने बताईन्छ । तर एउटै बट्टा वा प्यागेटबाट निकाल्दै प्रयोग गरिन्छ भने सचेत हुन पर्छ । हरेक पटक विर्को खोल्दै प्रयोग गर्दा हावाको माध्यमबाट अक्सिजन भित्र पस्ने हुँदा त्यो भित्रको पदार्थमा मनिक्युलमा परिवर्तन गरिदिनेकारणले सुरुको जस्तो स्वाद नहुन सक्छ ।
ग्रीन टिको प्रयोग यो समय बाट शुरुभयो भन्ने यकिन नभएपनि विभिन्न अनुसन्धानले ५ हजार बर्ष पुरानो चिनियाँ उपचार पद्धतिको अध्ययन गरिएको पाईन्छ । विभिन्न ऋषिमुनीहरुद्वारा रचित प्राकृतिक उपचार आयुर्वेदका पुस्तक हेर्दा त्यहाँ ग्रीन टि लाई विभिन्न रुपमा प्रयोग गरेको देखिन्छ । जापान र चिनमा परापुर्वकदेखी नै ग्रिन टि लाई एक उच्चकोटिको स्वास्थवर्धक पेय पदार्थको रुपमा प्रयोग गरेको देखिन्छ ।
फलस्वरूप जापानीज र चाइनिजको स्वास्थ्यस्तर राम्रो र औषत आयु बढी छ । भारत र चिनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालिलाइ मजबुत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरेको देखिन्छ ।
ग्रिन टि बिहान केही खाएर मात्र प्रयोग गर्नु उपयुक्त हुने बताईन्छ । । बिहान ब्रेकफास्टका साथमा पिउनु लाभदायक हुन्छ । स्वास्थ्य सम्बन्धि समस्या भएकाले दिनमा ४ देखि ५ कप सम्म प्रयोग गर्न सकिन्छ । ग्रिन टिमा दूध प्रयोग गर्नु उत्तम हुदैन बरु यस्मा कागती, मह मिसाएर पिउन सकिने बताईन्छ । न्यून रक्तचाप भएका र गर्भवती महिलाकोलागी भने चिकित्सकको सल्लाहमा पिउन सकिन्छ ।