पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाका अधिकांश स्थानहरुमा हलुका वर्षा भइरहेको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।
तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।
सदरमुकाम नजिक रहेको पौवा भञ्जाङ, सादुटार,सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको बताइएको छ ।हिमपातको कारण उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने कृषकहरुको जनजीवन प्रभावीत भएको छ । बिहिबार मात्र फालेलुङका एक युवाको चिसोको कारण लेक लागेर मृत्यु भएको थियो ।
हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् । बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो ।
जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू-भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ