काठमाडौं । ललितपुर–मोरङ हत्याकाण्डको प्रहरी अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सार्वजनिक गरेका दुईजनाले ४० हजार रुपैयाँको लोभमा उखुबारीमा शव गाड्ने र पुर्ने काम गरेको खुलेको छ ।
प्रहरी अनुसन्धानका क्रमका उनीहरूले ४० हजारको लोभका खाल्डो खन्ने र पुर्ने काम गरेको खुलेको हो । प्रहरीले उखुबारी हत्यामा संलग्न मोरङको रंगेली नगरपालिका–३, आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६, जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो ।
दुईजनाको हत्या गरेर उखुबारीमा शव गाडेलगत्तै सुभाम र हकिम फरार थिए ।
हत्याका मुख्य नाइके भनिएका अनिलकुमार मण्डलसहितले गएको पुस ५ गते सुनसरीको धरान उपमहानगरपालिका–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठका हत्या गरेका थिए । त्यस्तै, पुस ७ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको हत्या गरे ।
हत्यापछि उनीहरूको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । उखुबारीमा १०० मिटरको दूरीमा गाडिएको अवस्थामा प्रहरीले दुई खाल्डोबाट दुई शव फेलापारेको थियो ।यही माघ १२ गत चौधरीको शव र त्यसको भोलिपल्ट माघ १३ गते श्रेष्ठको शव गाडिएको अवस्थामा प्रहरीले फेलापारेको थियो । उक्त हत्यापछि शव गाड्न खाल्डो खन्न र पुर्न मण्डल समूहले ४०/४० हजार दिएर सुभाम र हकिमलाई परिचालित गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए ।
‘‘सुभाम र हमिकलाई ४० हजार रुपैयाँ दिएर खाल्डो खन्न र पुर्ने काममा संलग्न गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई पक्राउ परेका अमित साहले ४०/४० हजार रुपैयाँ दिएको पाइयो । सुभाम र हकिम साधारण मजदुर हुन्,” बाह्रखरीसित एसपी जिसीले भने ।प्रहरीले यसअघि मुख्य नाइके भनिएका मण्डललाई काठमाडौंबाट पक्राउ गरेको थियो । अमित साह भनिने दिनानाथ सोनार विराटनगर महानगरपालिका–५, दामाबन्दीबाट पक्राउ परेका थिए । ६२ वर्षीय नासिर आलमलाई विराटनगरको मटेरुवाबाट पक्राउ गरिएको थियो ।
त्यसपछि उनीहरूको बयान लिइयो । घटना अनुसन्धानका क्रममा माघ २० गते प्रहरीले सम्पर्कविहीन मोहन लिम्बूको हत्या गरी ललितपुरमा शव गाडिएको अवस्थामा रहेको जानकारी पायो । मोरङ प्रहरीले महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी गोदावरी नगरपालिका–१२, थेचो, चरङ्गखेलस्थित गोदामघरको कम्पाउन्ड एरियामा लिम्बूको शव गाडिएको अवस्थामा फेलापारेको थियो ।लिम्बूको हत्या गर्नकै लागि मण्डलले मासिक ३० हजार रुपैयाँ भाडा बुझाउने गरी घर नै भाडामा लिएको पनि खुलेको छ । एसपी जिसीका अनुसार कारोबार रकम एकलौटी गर्ने उद्देश्यले तीन साझेदारको हत्या गरिएको खुलेको छ ।
‘‘उनीहरूले फरक–फरक क्षेत्रमा लगानी गरेको कारोबार रकम अनुसन्धानकै क्रममा छ । अहिले यत्ति नै भन्न सकिने अवस्था छैन । अनुसन्धानका क्रममा खुल्दै थपिँदै छ,” एसपी जिसीले भने ।चारजना मिलेर करोडौँ रुपैयाँको जग्गा कारोबार, हाइड्रोपावर, सिमेन्ट उद्योग, सडकको ठेक्कापट्टा गर्दै आएका थिए । उक्त कोरोबार रकम मण्डलले एकलौटी गर्ने दाउमा तीनजनाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
योजनाबद्ध तरिकाले तीनैजनाको डोरी तथा गाच्छाले घाँटी कसेर हत्या गरिएको देखिएको छ । हत्यापछि जमिनमुनि खाल्डो खनेर गाड्ने, शव छिट्टै गलाउनका लागि नुनको प्रयोग गरिएको थियो ।प्रहरीले हत्यामा प्रयोग गरिएका सामानहरू बरामद गरिसकेको छ । थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।