तेह्रथुम । कुनै बेला तेह्रथुम र पाँचथरको सीमा माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर नदीकिनारका घाटमा बग्रेल्ती माछा पाइन्थे । यहाँका माछा खान पूर्वी तराईदेखि पारखीहरू झुम्मिन्थे ।अचेल यस्तो अवस्था छैन । नदी खोलाहरूमा माछा पाइन छाडेको छ । जाल हान्नेहरूले थोरैमात्र माछा पाउने गरेको गुनासो गर्छन् । तमोर नदीमा पाइने माछा निकै स्वादिलो मानिन्छ । तर अचेल माछा पाउन छाडेपछि नदीकिनार बसोबास गर्ने माझी समुदायको आम्दानी गुमेको छ । नदीमा माछा पाइन छोडेपछि तेह्रथुम, पाँचथर र धनकुटाका माझी समुदाय समस्यामा परेका छन् ।
फेदापगाउँपालिका १ माझी गाउँका युवा विनोदकुमार माझीगाउँको पुछारमा रहेको तमोर नदीमा पर्याप्त माछा भेटिन छाडेपछि युवाहरू गाउँ छोडेर विदेश पलायन भएको बताउँछन् । ‘माछा मारेर जीविकोपार्जन हुन छाडेपछि गाउँका युवाहरू विदेश भाग्न थाले,’ उनले भने । तमोर किनार २ सय ५० भन्दाबढी माझी परिवारको बसोबास छ ।
ताप्लेजुङको उत्तरी क्षेत्रमा २०७२ जेठ महिनामा खसेको पहिरोपछि नदी थुनिएर तमोर नदीमा आएको बाढीले माछा बगाएपछि तमोर नदीमा माछाको संख्या क्रमशः घट्दै गएको कुम्मायक गाउँपालिका १ भुल्केका ५० वर्षीय हर्कबहादुर माझीले बताए । नदीमा पानीको सतह घटेको समयमा समेत माछा कम मात्र भेटिने गरेको उनको भनाइ छ ।
अचेल दिनभर खोज्दा पनि एक किलो माछा भेट्न मुस्किल पर्ने गरेको स्थानीय गहरसिंह माझीले बताए । माछा बिक्री गर्न नपाउँदा जीविकोपार्जनमै समस्या भएको उनको भनाइ छ । स्थानीय बूढापाकाका अनुसार ०३५ सालमा तमोरमा आएको ठूलो बाढीले सबै माछा बगाउँदा तीन वर्षसम्म माछा भेटिएका थिएनन् । त्यसपछि नदीमा विस्तारै माछाको संख्या वढ्दै गएको माझीटारका जसबहादुर माझीले बताए ।
इकान्तीपुर