सरला रेग्मी,
पाँचथर । सुनसरीको सुन्दर नगरी धरानबाट कोशिराजमार्ग भएर १७ किलोमीटरको दुरिमा रहेको सुनसरी र धनकुटा को संगम स्थल भेडेटार पुग्न सकिन्छ । भेडेटार धनकुटा सडक खण्ड मदन भन्डारी राजमर्गमा पर्ने मुलघाटको कच्ची सडक पुर्व तर्फबाट फिदिम हुँदै ताप्लेजुङ लगाएत पुर्वी पहाडको यात्रा गर्न सकिन्छ ।
पुर्वी पहाडलाई तराई, प्रदेश तथा संघिय राजधानी पुग्नकालागी छोटो सडकको रुपमा लिइएको पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा जोड्ने तमोर कोरीडोरको यात्रा धरान देखि फिदिम पुग्नको लागीपनि छिटो मार्ग हो ।
धरानबाट इटहरी, दमक,बिर्तामोड र ईलाम हुँदै यात्रा गर्दा निकै घुमाउरो र लामो यात्रालाई तमोर करीडोरको सडकले सहज बनाएको छ । अहिले सडक ग्राबेल छ । ठाउँ ठाँउमा सडक तथा पुल बनाइने काम भैरहेको देखिन्छ । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने सडक तमोर नदिको नजिकै भएर निर्माण गरिएको छ । पुर्वी पहाड ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दालाई तराई झर्न सजिलो बनाइएको उत्त सडकलाई दृत सडकका रुपमा बिकास गरेको देखिन्छ ।
धरानबाट करीब ६ घन्टामा पाँचथरको सदरमुकाम फिदिम ओर्लन सकिन्छ ।
भेडेटारको सुन्दर दृश्य हेर्दै नमस्ते झरनालाई निहादै अघि बढ्न सकिन्छ । मुलघाटबाट पुर्वतर्फ लागेपछि तमोर नदिको किनारै किनार भएर पाँचथर आउन सकिन्छ । यात्राको क्रममा देखिने मनोरम दृश्यले मनै लोभ्याउछ । धरानबाट करिब एक सय सत्र किलोमिटरकै दुरीमा पाँचथरको फिदिम आइपुग्न सकिन्छ।
मुलघाटबाट पुर्व लागेपछी साँगुरिगडी गाउँपालिकामा पर्ने गलारबोटेमा मीठो खाना खाएपछी पुन यात्रा प्रारम्भ हुन्छ । रगुवा खोला, सदामको बगर, हङ्समराङ, छर्वा खोला तरे पछि नावा खोला तर्दा बगर नै बगर हिड्नु पर्छ । गत बर्ष परेको पानीले कति असर गर्यो त्यहाँ देख्न सकिन्छ ।
नावा खोलामा रहेको प्रहरी बिट समेत गत बर्षको पानीले अलि वर कुसुमेमा सारिएको रहेछ । कुसुमेबाट अलि अधि बढेपछी अलखुवामा भने अलि साँगुरो बाटो देख्न सकिन्छ । तल बग्दै गरेकी तमोर नदि अनि कतै मकै त कतै फुलेका तोरी बारीले मन प्रफुल्लित बनाउछ ।
भुल्के पुग्नु अधि पर पर पातला बस्ती देखिन्छ । लोरिपा खोला, हात्तिपोखरी, कंचिडे हुँदै यात्रा अघि बढ्दै झरना खोला पुगिन्छ । बर्खामा झरना खोलाको अत्यन्तै सुन्दर दृश्य हेर्न पर्यटक आउँने गरेको यात्रामा भेटिएका त्यही नजिकै हाङ्ठ्वाका स्थानिय राम ढुङ्गाना बताउथे हेर्दा सुन्दर भए पनि सडक बनि नसकेका कारण गाडीलाई त्यो हिलो कटाउन हम्मे हम्मे नै पर्नेरहेछ । चुङ्साङ्ली, हाङ्ठ्वा हुँदै यात्रा अघि बढ्छ ।
पाँचथर जिल्लाको विभिन्न ठाँउ जाने गाडी बस, जिप, ट्याक्सी संचालनमा छन भने ढुवानिको लागि पिकअप दैडिएको देखिन्छ तर साना गाडिहरु देखिएनन् । चालक लक्ष्मी तामाङ भन्छन् ‘साना गाडी कुदाउदा पुल नबनी अलि गाह्रो हुन्छ’ ।
तमोर नदिको किनारै किनार १० मिटर चौडा भएर सडक ट्याक निर्माण भएको उत्त सडकमा कालोपत्रे नभएको कारण धुले सडक छ । सडक छेउमा घरहरु बनिदैछन् । चहलपहल बाक्लो छ , चिया तथा साना होटलहरु बाक्लै खुल्न थालेका छन् ।
पुर्वी पहाडलाई तराई तथा सुबिधा युक्त सहरसंग जोड्ने यो सडक धरान देखि फिदिम सम्मको यात्रा गर्दा यो सडकलाई द्रुत रुपमा लिन सकिन्छ । ग्राबेलसम्मको काम अन्तिम चरणमा पुगेकाले द्रुतगतिमा कालोपत्रे बन्ने हो भने तराई, प्रदेश र संघीय राजधानी पुग्न सहज हुने छ ।