सरला रेग्मी,
पाँचथर । कान्छी ए….कान्छी….., सिता तुम्रोकलाई घरमा कान्छी भनेर बोलाउँछन् । उनी न कसैले बोलाएको सुन्छिन, न बोलाए तिर ध्यान नै दिन्छिन ।
कान्छी घर पछाडी एउटै ठाँउमा घुमिरहेकी थिइन् । उनकी आमाले उनलाई समातेर कुर्सिमा बसाइन । मुन्टो निहुरिएर आँखा तरेर उनले हामिलाइ हेरिन । उनी केवल १७ बर्षकी भइन् ।
बौद्धिक अपाङ्गता भएकी युवती हुन् । फिदिम वडा नम्बर ६ सिवाको वडा कार्यलयमै टासिएको उनको घर छ । नजिकै कालोपत्रे सडक छ । दैनिक दर्जनौँ गाडि दर्गुछन् । सयौँ मान्छेयात्रा गर्ने सडक छेउमा उनको घर छ । वाहिर जतिनै सुख, सुविधा भएपनि उनको दुर्दशा कोठमा पुगेपछि देखिन्छ ।
उनको कोठामा बस्न त के त्यहाँ दुई मिनेट पनि उभिन नसकिने दुर्गन्ध थियो । उनले दिसापिसाब त्यही गर्दी रहेछन् । अरु बेला बाहिर समान्य रुपमा निस्किएपनी महिनावारी भएको समयमा उनलाइ उनकै त्यही कोठामा थुनेर राख्दा रहेछन् ।
महिनावारी हुँदा बगेको रगत सम्हाल्न नसकेर पाँच दिन सम्म थुनेर राख्ने गरेको उनकी भाउजू मनिशा तुम्रोकले बताइन् । हिड्न सक्छिन तर बोल्न सक्दिनन् । घरको आर्थिक अवस्था कमजोर छ । उनका बुवा चतुरहाङ तुम्रोकले उपचारका लागि प्रयास नगरेको होईन । जन्मदा ओठ तालु काटिएकी थिइन, भरतपुर लगेर उपचार गराएका थिए । चतुरहाङ भन्छन् ‘छोरीको उपचारमा २०६६ साल तिर लगभग ७० हजार खर्च गरेको पनि हु तर छोरीको अवस्था देख्दा उनी मन अमिलो बनाउँछन ।’
फिदिम– ६ सिवाकै डम्बर कुमारी तुम्रोक २४ बर्षकी भइन् । उनी जन्मदै बौद्धिक अपाङ्गता थिइन् । आमा छोरी मात्रा घरमा बस्छन् । बुवाको एक बर्ष अगाडी मृत्यु भएको थियो । उपचारमा न कसैले लैजाउ भन्छ, न आमाले छोरीलाई लिएर जान सक्ने अवस्था नै छ ।
छोरीको अवस्था देख्दा ती आमाको आँखा ओभाउदैन । डम्बर कुमारी महिनावारी हुन्छिन् । आमा घाँस दाउरा जादा उनलाइ थुनेर जाने गरेकी छन् । आमा बुधमाया भन्छिन ‘कहिलेकाही घर बाहिर फुत्की हाल्छे । अनेक थरीका मान्छे हुन्छन्, त्यही भएर तीन महिने सुइ पनि लगाइदिएको छु ।’
फिदिम– ३ लालिखर्क कि जुनुमाया आङ्देम्बेको कम्मर मुनिको भाग चल्दैन । उनी जन्मदै अपाङ्ग भएर जन्मिएकी हुन् । लालिखर्कमा सानो किराना पसल चलाएकी आङ्दम्बेका एक छोरी, एक छोरा छन् । ‘गर्भवती हँुदा सारै कष्ट सहनु पर्यो । ठूलो भुँडी, आफू हिड्न नसक्ने’ पीडा सुनाएकि आङदेम्बेले भनिन् ‘कम्मरमुनि नचल्ने । हातको साहारामा घिस्रीदैकाम गर्थे । अपाङ्गनै पुरुष भएको भए यो कष्ट त मलाइ पर्दैन थियो ।’
यी केही प्रतिनिधि उदाहरण हुन् । शारिरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह हिड्न सक्दैनन् । जीवनयापन असहज हुने गर्छ । तर पुरुष अपाङ्गता भएका व्यक्ति भन्दा अझ महिलालाई शारीरिक बनावट र प्राकृतिक कारणले गर्दा असहज छ । समाजमा अपाङ्गता भएका महिलाहरूलाई विभिन्न चुनौती र समस्याहरु भोग्नु परीरहेको छ । अपाङ्गतालाई असक्षमताको दृष्टिले हेर्ने दृष्टिकोण अझै हाम्रो समाजमा ब्याप्त छ । अपाङ्ग सम्बन्धी काम गर्ने संस्था करुणा फाउन्डेसन कि कार्यक्रम साहायक बिद्या योङ्जन भन्छिन् ‘पुरुष तुलानामा अपाङ्गता भएका महिलालाई विभिन्न दृष्टिकोणबाट असहज छ । शिक्षामा, बिबाहमा यसको प्रत्यक्ष असर परेको छ । प्रायः आर्थिक अवस्था कमजोर भएको परीवार भएको कारण सेनेटरी प्याड प्रयोग हुदैन ।’
योङ्जन थप्छिन् ‘मानसिक बिक्षिप्त व्यक्तिले लगाएको प्याड या कपडा फाल्ने, च्यात्ने हुँदा लगाउन पनि गार्हो हुने गर्छ । महिनावारी हुँदा प्रयोग गरिएको कपडा सेनेटाइज नहुदा संबेदनसिल अंगहरुमा संक्रमण हुने समस्या पनि देखिएको छ । घरेलु हिंसाको सिकार भएका पनि छन् । न उनिहरु आफ्नो समस्या बताउन सक्छन् न त्यो बिषयमा आवाज उठाउन नै सक्छन्, जस्को कारण विभिन्न बलात्कारका सिकार हुने गरेको पाइएको छ ।‘
चालु आर्थिक बर्षमा शारिरिक तथा मानसिक अपाङ्ग भएका दुईजना महिला बलत्कारको सिकार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्ग छ ।
फिदिम नगरपालीकाकी उपमेयर उर्मिला प्रधानङ भन्छिन् ‘अनुगमको क्रममा अपाङ्गताको हकमा महिला र पुरुषमा शारिरिक तथा मानसिक एउटै प्रवृत्ति देखिएपनी महिलाहरुलाइ गरिने व्यवहार निकै फरक देखियो । श्रीमान अपाङ्ग हुँदा श्रीमतिले गर्ने हेरबिचार र श्रीमती अपाङ्ग हुदा घरपरिवारले गर्ने व्यवहार निकै फरक भएको पाइन्छ ।’
फिदिम नगरपालिका ११ की १९ बर्षिय राधा ( नाम परिवर्तन) को हात खुट्टा छोटा छोटा छन् । उनको ६ कक्षामानै पढाई रोकियो । न कोहिसँग बोल्छिन न त परिवारका सदस्य बाहेक अरुसँग देखा नै पर्छिन । करुणा फाउन्डेसन कि कार्यक्रम साहायक बिद्या योङ्जन भन्छिन् ‘उनी जस्तै शारीरिक अपाङ्ग भएका पुरुष पनि छन् तर उनिहरुको पढाइ रोक्नबारे परिवारले कहिलै सोच्दैन तर राधा महिला भएकै कारण पढाइ रोकिएको जस्तो देखिन्छ ।’
नेपाल अपाङ्ग महिला संघको अनुसार नेपालको जनगणना २०६८ अनुसार जम्मा ३ अर्ब जनसंख्याको २% जनसंख्या अपाङ्गता भएका व्यक्तिहरुको रहेको छ । जस मध्ये ४५.४४ % अपाङ्गता भएका महिलाहरु रहेका छन । विश्व स्वास्थ्य संगठनको विश्व अपाङ्गता प्रतिवेदन र विश्व बैंकले विश्वको जनसंख्या मध्ये १५% जनसंख्या अपाङ्गता भएका व्यक्तिहरुको रहेको दाबी गरेको छ । यद्यपि अपाङ्गता अधिकार अभियन्ता, संघ संस्था तथा सम्बन्धित निकायले नेपालको जनगणना २०६८ मा प्रकाशित अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या विश्व स्वास्थ्य संगठनको प्रतिवेदनको तुलनामा उल्लेखनीय रुपमा अवमुल्यनमा रहेको विश्वास गरेको देखिन्छ ।
नेपालको संविधानमा अपाङताको वर्गीकरण भएको छ । शारीरिक, दृष्टि सम्बन्धी अपाङ्ग, सुनाइ सम्बन्धी, श्रवण दृष्टि बिहिन, स्वर र बोलाइ सम्बन्धि, मानसिक वा मनोसमाजिक अपाङ्ग, बौद्धिक अपाङ्ग, अनुवन्शिय रत्तश्राव ( हेमोफिलिया) सम्बन्धी अपाङ्ग,अटिज्म सम्बन्धि, बहुअपाङ्गता १० प्रकारले बर्गिाकरण गरीएको छ । अपाङ्गताको अवस्था हेरेर सरकारले क, ख, ग र घ मा बर्गिकरण गरि क्रमशः रातो, निलो, पहेलो र सेतो रंगमा कार्ड बितरण गरेर सरकारी सुबिधा दिने व्यबस्था गरेको छ । तर कार्ड अनुसार पाउने सुविधा पाउन कठिन भएको अपाङ्गता भएकाहरु बताउँछन् ।
रातो कार्ड र निलो कार्डका अपाङ्गताभएका व्यक्तिले राज्यबाट बिशेष सुबिधा पाउने प्राबधान छ । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम बनेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४’ ले अपाङ्गता भएका व्यक्तिका लागि थुप्रै नीति नियमहरु नबनाएको होइन । निशुल्कः शिक्षाको व्यबस्था, निशुल्कः स्वास्थ्योउपचार, निजामति सेवामा ५ प्रतिशत आरक्षणको व्यवस्था, आयकरमा सहुलियत, सार्वजनिक संरचनामा भौतिक पहुँचको व्यवस्था लगाएतका नीति निर्माण भएका छन् ।
कानुनमा अति अपाङ्ग भएका महिला तथा पुरुषलाई स्वास्थ्य, शिक्षा, रोजगार, यातायात तथा विभिन्न निकायमा छुट छ । स्वास्थ कै कुरा गर्ने हो भने निशुल्क उपचार गर्न सकिन्छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि निस्चित ४१ प्रकारका औषधिहरु निशुल्क रुपमा प्राप्त गर्ने व्यबस्था गरेको छ । नेपाल सरकारले परिभाषित गरेको अपाङ्गताको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने सबै अपाङता पर्छन् । तर सीता तुम्रोक र डम्बरकुमारी तुम्रोकको अबस्था हेर्द स्थानिय सरकार नजिकै हुँदापनि उनिहरुप्रती ध्यान नपुगेको देखिन्छ । अपाङ्गता भएका महिलालाई पनि अन्य सरह अबसर दिने हो भने उनिहरु पनि सामान्य जीवन बिताउन सक्छन् । जुनुमाया आङ्देम्बे र राधा जस्ता थुप्रै अपाङता भएका महिलाहरुलाइ अबसर र शिक्षाको खाचो देखिन्छ । राज्यले शिक्षा, यातायात, कानुन, खेलकुद, सञ्चार, आर्थिक राजनीति जस्ता आधारभुत अधिकार क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको समतामुलक पहुँच र पुर्ण सहभागिता गराउने नीति निर्माण त गरेको छ । तर जब सम्म निर्णायक तहमा अपाङ्गता भएका व्यक्ति नुहँदा कार्यान्वयनमा समस्या भएको अपाङ्ग महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नबिन ढुङ्गेलको भनाई छ ।