काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
आजको बैठक कार्ययोजना र संगठनको पूर्णतामा केन्द्रित हुने बताइएको छ । गत पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भए पनि पदाधिकारी चयन हुन सकेकाे छैन । आजको बैठकमा पदाधिकारी चयन गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
शुक्रबार सुरु भएकाे बैठकमा एमसीसी लगायतका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । एमसीसीमा अध्यक्ष दाहालले पार्टीको लाइनविपरीत निर्णय लिएको भन्दै श्रेष्ठ समूह असन्तुष्ट छ ।
श्रेष्ठले पार्टीभित्र वैचारिक संस्कृतिमा विचलन आउनुका साथै नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति हाबी हुन थालेको बताउँदै आएका छन् । गत साउनको केन्द्रीय समितिको बैठक र पुसको महाधिवेशनमा प्रचण्डले आत्मालोचना गर्दै कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । तर, एकल निर्णयबाट एमसीसी अनुमोदन गर्ने निर्णयले प्रचण्डमा सुधार नभएको निष्कर्ष श्रेष्ठ समूहको छ । शिलापत्रबाट