-मुनाराज शेर्मा
सामुदायिक विद्यालयको तस्बिरले गाउँको विद्यालयमा गैर हर्कत गर्ने डुक्पाको ग्याङको व्याख्या गरेको छ।कृष्ने कडा मिजासको शिक्षकद्वारा संचालित बाल अमैत्री सामुदायिक विद्यालयको खुलस्त चित्र छ। मनोविज्ञान काउन्सिलिङ विद्यालयमा शून्य छ। डुक्पा जस्तो चकचके विद्यार्थी, दण्डलाई ज्ञान र अनुशासनको मुल मन्त्र मान्ने शिक्षक सामुदायिक ग्रामीण विद्यालयको पर्याय बनेको छ। मात्रि भाषा भन्दा फरक भाषामा शिक्षा लिनु पर्दाको समस्याले सिकाइमा हुने कठिनाइलाई उपन्यासले छर्लङ्ग पारेको छ। अन्तत डुक्पा विद्यालय छोड्छ। यो नेपालको शैक्षिक अवस्थाको चित्र हो।
सपनाको यात्राले नै मानिसमा जीवनलाई चलायमान गर्ने निश्चित लक्ष्यको गन्तव्य निर्माण हुन्छ, त्यो डुक्पासँग छ। भलै सवारी चालक बन्नु तेति महान लक्ष्य नहोला।तथापि आम मानिसको औसत लक्ष्य ड्राइभर हुनु पनि हो।हामी सडकमा पढेलेखेका समेत अटो हाकेर जीवन चलाई राखेको देख्न सक्छौं।आलोचकले आदिवासीले देख्ने सपना के यति कमजोर हुन्छ भनेर प्रश्न गर्न सक्छ।यो स्वभाविक प्रश्न हो।लेखकले यसको फृक्वेन्सिलाई थेग्ने छ लागेको छ।पात्रको क्षमताको आधारमा सपना निर्माण गरिएको छ।त्यो सपना उसको बाल्य वातावरणको भुगोलमा निर्माण भएको छ। वा त्यसरी सोच्न बाध्य पारिएको छ।एक असल मेधावी पनि हुन सक्थ्यो डुक्पा तर यहाँ लद्दु आवेगलाई नियत्रण गर्न नसक्ने अध्ययनमा कमजोर देखाइएको छ।समूह बनाउने नाइके हुने उट्पट्याङ गर्ने भलिबल फुट्बल नृत्यमा वस्ताद देखाइएको छ।नेपाली शिक्षा नीतिमा अतिरिक्त क्रियाकलापमा अब्बललाई योग्य नमान्ने परिपाटीको पर्दाफास गरिएको छ।सायद यो दक्षिण एसियाली शिक्षा नीति हो। आदिवासीहरु बेलैमा लाहुरे जान छाती नाप्छन।डुक्पामा यो भुत सवार छैन। केही छैन ड्राइभर नै सहि, ऊ देशमा बस्न चाहन्छ।सपना देख र देशमा बस भन्ने शक्तिले तानिएको पात्र हो। जुन सपना देख्छौ तिमी त्यसको गहिराईमा जाउ भन्छ डुक्पा। सपनाधारीहरु देशमै केही गर भन्ने यो दृष्टि वा बैचारिकि पोष्ट रेमिटान्स बैचारिकी हो।डुक्पालाई उसको चरित्र अनुसार नै बिचारको बाटोमा हिडाइएको छ।
लिम्बू लवजले भरिएको भाषिकाले युक्त महाभारा नेपाली औपन्यासिक मानक भाषा भन्दा महाभाराको भाषा फरक छ।राजनैतिक शब्दावली स्थानिक जनजिब्रोको बोलचालको भाषा पाँचथरे लिम्बु टोनको भाषा अन्य अङ्ग्रेजी र नेपाली भाषाको स्थानीय लवजको प्रयोग भरमार छ।केन्द्रिय मानकको भन्जन छ। यस्तो भाष्य नेपाली साहित्यमा मोहन कोइरालादेखी शुरु भयो। आयामेली लीला लेखनको एक छुट्टै विशिष्ट प्रयोग छ। रङ्गवादीको झन छुट्टै छ।यो प्रयोग उत्तर्वर्ती सिर्जनशिल अराजक्तामा समेत छ।नगरकोटिको आफ्नो खास फ्लेवर भएको भाषा छ।वसन्त बस्नेतले अर्को कृति प्रकाशन गरेपछि थाह लाग्छ छुट्टै भाषिक प्रयोगमा कस्तो बाटो निर्माण गर्छ।जुन अहिले देखिएको छ।भाषिक विषिष्टताले बस्नेतलाई फरक रुपमा उभ्याउन सक्छ। भाषिक शैली सिल्प नै चल्तिको भन्दा बेगल बनेपछि भाषा बिग्रीयो भन्ने आरोप आउँछ।तथापि त्यै कुराले बसन्तको भाषिक शिल्प भन्न मिल्छ।
लारुम्बाको राजनैतिक कथाले भन्छ, धार्मिक सत्ता राजनैतिक एकात्मक सत्ताको नजिक छ।लारुम्बाको धार्मिक पृष्ठभुमि प्रलयको अफवाहमाथि पुस्तकले खुलेर बोलेको छ।मिङ्गसो नै एक डिप्लोम्याट हो जसले
लारुम्बा र मावोवादी बिचको द्वन्द्व निम्त्याएर आफ्नो सोझो गर्ने प्रमुख पात्र देखिन्छ।जसबाट लारुम्बा केही योजनाकारको उद्देश्य पुर्ति गर्न संचालित थियो देखिन्छ।राज्य भित्र अर्को राज्य छ त्यो धार्मिक सत्ता हो भन्ने प्रमाणित हुन्छ।मुल कानुन भन्दा धार्मिक कानुन प्रभावि देखिन्छ।राज्यको सेना प्रहरी हुँदा हुँदै काम्राङ नियुक्ती गर्ने अदृश्य अख्तियारनामा छ।
विद्रोही राज्यसँग जति भय र बैरभाव राख्छ त्यति नै धार्मिक सत्तासित पनि राख्छ। धार्मिक सत्ता बिद्रोही भन्दा राज्यसँग नजिक छ। ऊ जोबाट सम्रक्षित छ।र, प्रश्नसँग भय राख्छ। अनएकौ उच्च सिद्धान्तहरु धर्मको छाँयामा लट्पटिएर कमजोर भए भन्ने प्रमाण पनि हो यो।
मावोवादी जनयुद्धको प्रभावित कथा
मावोवादी जनयुद्ध रोल्पाबाट उम्रेर देशव्यापी भयो।पूर्वमा केही जिल्ला प्रहरी पोष्ट सेनाको ब्यारेक हानेको हो।त्यो बाहेक बन्दुक माग्ने खोस्ने एम्बुस थाप्ने सडकमा छेकेर युद्ध काट्मार घेराबन्दी हातहतियार ओसारपसार साङ्गितिक जनचेतना कार्यक्रम सेनाको प्रत्याक्रमण धरपकड खानतलासी पक्राउ हत्या धेरै प्रकारको क्रियाप्रतिक्रियाहरु सम्पन्न भयो। यो महाभाराको कथामा जनसम्पर्क कार्यकर्ताहरुले मोसो दल्ने सेल्टर स्थानान्तरण गर्दै जाने जनतामा काम गर्ने देखि काम्राङ्सँग वैपरित्य राख्ने हतियार पुर्याउने काम गरेको छ।कटक तेसबेलाको काम्राङ्को सुराकिमा हत्या गरिएको रियल पात्र हो।डुक्पा जस्तो अर्ध भुमिगत पात्रहरु पार्टीमा प्रसस्त थिए।त्यसकारण यो जनयुद्धको आम्सिक प्रतिनिधि घटना हो ।तर लारुम्बाको काम्राङसितको मावोवादी युद्ध सत्य पूर्ण घटना हो।महाभारत पर्वत शृङ्खलाको फक्ताङ्लुङ सम्मको कथाले पूर्ण जनयुद्धको कथा भन्दैन।भन्न सक्दैन । त्यसको लागि जनयुद्धको छुट्टै कथा लेख्नु पर्छ जुन उपन्यास होइन इतिहासमा मात्र हुन्छ।बजारमा दूध गैसकेपछी शुद्ध मालि गाईको दूध खोज्नु असम्भव नै हुन्छ।अब डेरि प्रडक्टको कथा सुरु हुन्छ।त्यस्तै अब जनयुद्धको प्रभावित कथाहरु ज्यादा उम्दा शक्तिशाली र जीवनसँग जोडिएका हुन्छन्। पूर्वी पहाडमा डुक्पालाई हिम्मतिलो बौद्धिक बनाउने बैचारिक पार्टी माओवादी पार्टी नै हो।मावोवादि पक्षधरले दुखान्त कथा भनेपनि बैचारिकि प्रभावले यो सशक्त कथा हो।नायकको हत्या जनयुद्धमा समेत भएको थियो।तिनै घटनाको यो सुक्ष्म प्रतिनिधि घटना हो। फेरि राज्यले वा निहित सत्ताले योद्धा हत्या गरेको यो एक लिखित आख्यानात्मक साक्षी पनि हो।यो त दस्तावेज हो।बिचार त मेरिना डुक्पाले बोकेर ल्यायो त।
लिम्बू गाउँको कथा
लिम्बुहरु राणाकालदेखी भारतीय सेनामा थिए।त्यसपछि सिङ्गापुर बृटिष र ब्रुनाई आर्मिमा जागिरे भए त्यो अद्यावधिक छ।नेपालको पूर्वि मध्य पहाडहरुमा सभ्यता भित्र्याउने लाहुरेहरु हुन।तिनै लाहुरेहरुको कथा पनि छ।लिम्बुवानमा मेला लाग्ने मेलामा धान नाँच्ने पालाम ख्याली हाक्पारे गाउँने पिरती लाउने मायामा डुब्ने र
ेई पिरतिको रन्कोमा मोहोनी लाग्यो भन्ने लिम्बुको सांस्कृतिक पक्ष हो।तेई मायामा सुकमती हुरुक्क हुन्छ। डुक्पाको पिरती अन्तरजातीय प्रेम हो।लिम्बुनी सुक्मतिसित तामाङ डुक्पाको प्रेम सर्वस्विकार्य प्रेम छैन। सुकमतिको माइतिले सहजै स्विकार्दैन भन्ने पक्ष हावी छ।सुकमती प्राप्त गर्न डुक्पाले पालाम गाउँनु सिक्यो।लिम्बू भाषा फरर बोल्न मिहिनेत गर्यो। फुट्बल खेल्नमा माहिर बन्यो।लिम्बू संस्कृतिको मिथकहरु आफ्नै मिथक जस्तो प्रेमले ग्रहण गर्यो।डुक्पालाई बरु आफ्नो बुद्धिस्ट दर्शन वास्ता भएन।डुक्पाले लिम्बुवानमा लिम्बू हुनु लिम्बु संस्कृति उदार भएर कि लिम्बुवानमा तामाङ अल्पसंख्यक भएर लिम्बू भयो एउटा जटिल प्रश्न छ। बहुसंख्यक जातिको शक्तिशाली संस्कृतिमा अल्पसंख्यक पछि पर्नु र त्यसको प्रभाव चलायमान हुँदा प्रभावित हुनु डुक्पाको नियती बन्यो।यसमा उदारता थोरै प्रभाव ज्यादा छ भन्ने लाग्छ । भाषा जाति र संस्कृति आफैमा एउटा सत्ता हो।लिम्बुवान इतिहास सभ्यता संस्कृति भाषा धर्म भुगोल सबै भएको सत्ता हो जसको प्रभावमा अरु सत्ता प्रभावित बन्नु स्वभाविक हो।मायामा परेपछि प्रभावित भन्दा पनि ऐच्छिक हुन्छ ग्रहण, त्यो नसिकी नहुने अवस्था सृजना हुन्छ।फेरि जीवन टाँकिको बोटजस्तो हुर्किदै जादा डुक्पाले कहिले सिक्यो ।त्यो पत्तै पाएन ।यो लगभग नैसर्गिक जस्तै थियो।
सुकमति ज्यादा समर्पित पात्र हो भन्ने देखिन्छ नै।महिला पुरुष भन्दा बढी आदर्श हुन्छ भन्ने भाव यसमा समेत मुखरित भयो भन्ने आरोप छ।समर्पित भन्ने हिन्दु दर्शन हो जो रामायण महाभारत पुराण देखि स्वस्थानी ब्रतकथा समेतमा छ। यो प्रभाव अन्य जातिहरुमा पनि प्रभावित छ।समर्पित भन्ने वैयक्तिक तत्व पनि हो।सुक्मतिमा गहिरो प्रेम छ।जो मोहोनी लागेको भन्ने कथनसँग मेल खान्छ।प्रेममा विस्वास गर्नेहरु एकोहोरो लगाव राख्छन।लिम्बू कल्चरमा एक उपजातिको ठुलो समुदाय एकै क्षेत्रमा बसोबास गर्ने भएकोले पुरुष साथी पाउनु गार्हो हुन्छ।लिम्बू समुदायको प्रेम प्रस्ताव प्रेमिल व्यबहार पनि भौतिक भन्दा ज्यादा भावनात्मक हुन्छ।अलिक अररो रुखो प्रकारको हुन्छ।तर हृदय र मनले ज्यादै गहिरोसँग लिन्छ ।तेइ भएर यो प्रेमलाई असली प्रेम होइन भन्ने आलोचना समेत छ। तान्छोहाङ्ले सुकमतिसँग समय गुजारेपछि तान्छोहाङ्प्रतिको प्रेम अंकुरण हुन थालेको छ।जसले पनि सुकमती पूर्ण समर्पित पात्र भने होइन प्रमाणित हुन्छ।
प्रहरी सेना जनमिलिसियाको आम्सिक कथालाई पनि महाभाराले बोल्छ। औपन्यासिक मुल पात्रको कथालाई विखण्डन गरि प्रस्तुति गर्दा प्रवाह र उत्साहलाई कमजोर बनाइएको जस्तो छ।सलल बगेको डुक्पाको कथा बिचमा टुट्छ।मिङ्सो तान्छोहाङ र थाङसाङ्को कथा सुरु हुन्छ।जसले जनयुद्धको बेला लारुम्बाको काम्राङ पनि जनयुद्धको बाधक थियो भन्ने देखाउछ।सुकमती लारुम्बा आएर धार्मिक बनेपछि डुक्पा पिछा गर्दै आउने कथाले डुक्पा जोडिन्छ।यो शैली रश्मि शेखरको जुहिना उपन्यासमा भेटिन्छ।बिचमा डुक्पा हराएर पछि जोडीदा निकै खाली महसुस भए पनि पछि आनन्द हुन्छ।विशृङ्खलता उपन्यासको नौलो शैलिको रुपमा प्रयोग भैरहेको छ। यो डिस्कन्टिनिउटी पश्चिमी साहित्यमा पनि प्रबल रहेछ।मिङ्गसो तान्छोहाङ कटक आफैमा आफ्नो कथाले नायकत्व प्रभावी पात्र हुन।यी सबै पात्रहरु पोष्ट मोर्डन चरित्र चित्रणमा बहु नायकत्वको क्षमता राख्छन।रङ्गवाद उत्तरआधुनिक्ताको एकल नायकत्वको अस्विकार र बहुलनायकत्वको स्थापनाको बैचारिकी महाभाराको चरित्रले आत्मसात गरेको छ।
छुट्टै कथा प्लट पात्र र स्थानीकताले महाभारा अब्बल कृति हो। राज्यले छाँयामा पारेको कमजोर ठानेको कथाहरु मध्येको कथा हो नि लिम्बुवानको कथा।लिम्बुवानमा बस्ने सीमान्तकृत पात्र डुक्पा लिम्बू नहुदै लिम्बू जस्तो छ।लिम्बू याक्थुङ सभ्यताको प्रभाव शक्तिशाली छ देखिन्छ। लिम्बू जनजातिका आफ्नै भाषा धर्म रितिरिवाज इतिहास संस्कार संस्कृति प्रागैतिहासिक तथ्य मुन्धुम कानुन खाद्य परिकार पहिरन आर्थिक प्रणाली मुद्राको कला उद्योग गीत सङ्गीत बाद्यबादन भुगोल उत्पत्तिको कथा ईश्वर देवस्थल अन्तर्राष्ट्रिय डकुमेन्टेसन योगदान युद्ध सन्धी सम्झौता भएको जाती हो जसको छुट्टै कथालाई महाभाराले लेखेको छ।यी सब कुरा त महाभारामा आएको छैन।तथापि जे जति आएको छ त्यो प्रशंसायोग्य छ। पालाम गाएर प्रेम गर्ने लिम्बुवानमा चलेको प्राचीन परम्परा हो।मेला जाने पालाम गाउने अति स्वीकार्य उत्सव हो।पात्रहरु पियोर लिम्बुवानि रगतका छन जसले छुट्टै स्वादको कथाको अनुभुत गराउछ।महाभाराले केन्द्रिय मानकमाथि धावा बोलेको छ।कथाहरु केन्द्रिय प्रचलित घेराभन्दा बाहिर पनि जोडदार प्रभावशाली छन लेखिनु पर्छ भन्ने यो तथ्य प्रमाण हो। लाटो पहाड रोल्पा सुइना आदि कृतिहरु यसका उदाहरण हुन।
राज्य सत्ताको राजनैतिक सिद्धान्त परिवर्तन भएसँगै साहित्यका सिद्धान्त पनि स्थापित हुन्छन। यो समय स्थानिकताको समय हो।खास लिम्बू संस्कारमाथिको प्रकाशन खाद्यन्न कला संगीत गायन मेला पर्व फूल बिरुवाको मुन्धुमी सम्बन्धलाई जीवनसँग जोडेर हेर्नू स्थानिक्ता हो। जो अरु पक्ष जाति भुगोलसँग मेल खाँदैन। लारुम्बामा एउटा अर्ध भुमिगत सत्ता पनि छ।जसरी जेरुसेलम मक्का पशुपति एउटा सत्ता छ।जसको कथा महाभारा भन्छ। नथियाको सामली जस्तो मन छुने भव्य पात्र हो डुक्पा जो समाजमा यसअघि नै स्थापित ग्रामीण नाम हो। सपनाको भारिले किचेर बाँचिरहेको पात्र हो।कटकको हत्यापछि डुक्पा मारिने त्रासले पाठकहरु रन्थनिन्छन।प्रेम मर्नबाट जोगिएको छ।बाँच्ने आशा छ।यो सन्सार मात्र आशाले अडिएको हो नत्र उहिलै सिद्धिन्थ्यो नि।सबैको मनमा बस्ने पात्र सृजना गर्नु उपन्यासकारको अब्बल क्षमता हो। फुङ्सिङ मेलाको इतिहास तीन चार सय बर्ष अघिको हो।जसले हजारौं लाखौं सुकमतिहरुको प्रेमको साक्षी बसेको छ। त्यहाँको वायुमण्डलमा प्राचीन कालदेखिनै पालामको सुगन्ध हावासँग मिस्रीत छ जो फक्ताङ्लुङदेखि बहेर आएको स्वच्छ सुगन्धित हावा हो।